काठमाण्डु, १७ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नराखिने प्रतबिद्धता जनाएका छन् ।
नेकपा नेतृत्वकालमा प्रधानमन्त्री रहेका बेला पार्टी बैठक मात्र नभई ओली समाजको वनभोज कार्यक्रम समेत बालुवाटारमै राखिएको भन्दै आलोचना भएको थियो । यस्तै उनीमाथि सिंहदरबारबाट नभई बालुवाटारबाटै मुलुक चलाएको आरोप लागेको थियो ।
ओलीले अघिल्लो कार्यकालमा आएको सुझावका आधारमा यसपटक पार्टी बैठकका लागि सरकारी निवास प्रयोग नगर्ने घोषणा गरेका छन् । पार्टी मुख्यालय च्यासलमा बाढी पसेका कारण बिहीबारको सचिवालय बैठक सिंहदरबार अगाडिको एक होटलमा राखिएको छ ।
‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’