यी हुन् एआईजी ज्ञवालीमाथि लागेका पाँच आरोप

काठमाण्डु टुडे २०८१ साउन १७ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, १७ साउन– जागिरे जीवनको उत्तराद्र्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन सुरु भएको छ ।

ज्ञवाली ३२ वर्षे उमेर हदका कारण आगामी भदौ अन्तिम साता अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई नेतृत्वको पाँच सदस्यीय समितिले ज्ञवालीमाथि छानबिन थालेको हो हो ।

प्रहरी संगठनको दुरुपयोग गरी अपराध अनुसन्धानमा स्वार्थ राखेको आरोपमा छानबिन निर्देशननालयमा उजुरी परेपछि ज्ञवालीमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राई नेतृत्वमा समिति गठन गरेका थिए ।

ज्ञवालीमाथि प्रमुख पाँचवटा आरोप लगाइएको छ । ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग अन्तरंग सम्बन्ध रहेको आरोप उनीमाथि लागेको छ ।

चलाउने आफैंले सामाजिक सञ्जालमार्फत आफ्नो ज्ञवालीसँग कुरा हुने गरेको सार्वजनिक गरेका थिए । यस्तै ज्ञवालीमाथि उमेर घटाएर प्रहरी निरीक्षकमा भर्ना भएको आरोपमा पनि छानबिन हुँदैछ ।

त्यसका अलावा प्रहरी मुख्यालयले ज्ञवालीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर आएको तथा सन्तानलाई विदेशमा राखेको आरोप पनि लगाएको छ ।

ज्ञवालीले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग साँठगाँठ गरी कुँवरलाई बर्खास्त गरेर आफू प्रहरी महानिरीक्षक बन्न लागेको पनि आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us