काठमाण्डु, १६ साउन– काठमाण्डुको नयाँ बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टलाई खड्काको समूहले २०६४ मा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् । हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।
२०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत अवस्थामा फेला परेका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।