प्रधानमन्त्री ओलीको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

काठमाण्डु टुडे २०८१ साउन १६ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ ।

खतिवडाको तर्फबाट आवास अधिकारीले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन । जिल्ला प्रहरी परिसर काठमाण्डुले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिइएको थियो ।

जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको हो । उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप रहेको छ ।

उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us