नेपाल राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित

काठमाण्डु टुडे २०८१ साउन ११ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा आज शुक्रवार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको स्रोतले जानकारी दिएको छ । योसँगै राष्ट्र बैंकले केही बेरमा औपचारिक कार्यक्रम गर्दै आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

सवा १२ बजे राष्ट्र बैंकमार्फत नै मौद्रिक नीति सार्वजनिक गरिने प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिएका छन । राष्ट्र बैंकको आधिकारिक अनलाइन पोर्टलबाटै मौद्रिक नीति सार्वजनिक हुने भए पनि औपचारिकताका लागि मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो ।

चालु आर्थिक वर्षको वित्त नीति अर्थात् सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य रहेको छ । उक्त लक्ष्यलाई सघाउने गरी कर्जा लगानी र उत्पादनमा केन्द्रित गर्ने गरी खुकुलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खासगरी आर्थिक शिथिलताका कारण खस्किएको निजी क्षेत्रको आत्मबल फर्काउने र बैंकहरूको कर्जा लगानी सहजीकरण गर्ने गरी मौद्रिक नीतिले नीतिगत दरहरूलाई समयसापेक्ष परिमार्जन गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us