ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी

काठमाण्डु टुडे २०८१ साउन १० गते १५:१४ मा प्रकाशित

काठमाण्डु, १० साउन– ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन । आज बिहिबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् ।

बैंकिङ क्षेत्रमा रेग्मीको ३ दशकभन्दा लामो अनुभव रहेको छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव रेग्मीसँग छ ।

राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए सम्मको अध्यन गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us