
एजेन्सी– कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका विश्व प्रसिद्ध खेलाडी लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने पक्का भएको छ ।
आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर रूपमा मेस्सीलाई चोट लागेको थियो । फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनले रुँदै मैदान छाड्नुपरेको थियो ।
यसका बाबजुद अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । खेलका दौरान मेस्सीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो ।
मेस्सीले चाँडै मैदानमा फर्किने बताए पनि यसको मिति भने तय गरिएको छैन । उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउने भएका छन ।