प्रचण्डलाई नेकपा एसको सुझावः देउवालाई गाली नगर्नु, चार महिनामै परिस्थिति तपाईंको पक्षमा आउँछ

काठमाण्डु टुडे २०८१ असार २८ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, २८ असार– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमाणि चौधरीले काँग्रेस र एमालेको गठबन्धन चार महिनामा भत्किने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मत दिन उभिएका उनले यो गठबन्धन लामो नजाने बताए । उनले काँग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध नबिर्गान प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस आग्रह गरे ।

चार महिनापछि परिस्थिति प्रचण्डको पक्षमा आइपुग्ने दाबी उनको थियो । बेलाबेलामा ठूलाको साथ खोजेर आफूहरुलाई प्रचण्डले छाड्ने गरेको र आफूहरुले भनेको नमान्दा अहिलेको परिस्थिति आएको बताए ।

उनको संकेत एमाले अध्यक्ष केपी ओलीतर्फ थियो । ‘तपाईंले मान्छे चिन्नुभएकै रहेनछ । अब त चिन्नुभयो होला नि ? हामी त तपाईंकै साथमा छौं, रहन्छौं । तर, तपाईंले पटकपटक हामीलाई छाड्नुभएर यो परिस्थितिको सामना गर्नुपरेको छ’, चौधरीले भने, ‘अहिले पनि कांग्रेस सभापतिलाई दोषी नदेख्नुहोला ।

उहाँसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला चार महिनामै परिस्थिति अनुकूल भइहाल्छ । एक सय प्रतिशत चार महिनामा परिस्थिति तपाईंकै पक्षमा हुन्छ ।’
चौधरीले ओलीले संसद विघटन गर्ने भन्दै त्यसको साक्षी नबस्न देउवालाई आग्रह गरे ।

प्रचण्ड अस्थिर भए पनि मनको सफा भएको र उनकै कारण नेपालमा राजनीतिक परिवर्तन र जागरण आएको चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us