काठमाण्डु, २८ असार– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झाको पक्राउपछि काँग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति भएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्नेसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको समर्थनमा बोल्दै उनले काँग्रेस र एमालेले मुलुकलाई पछि फर्काउन षड्यन्त्रपूर्ण सहमति गरेको आरोप लगाए ।
उनले राष्ट्रिय सहमतिको दाबी गरे पनि मध्यरातमा एक÷दुई जना बसेर गरिएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताए । आफूभन्दा अघि बोलेका काँग्रेस प्रमुख सचेतक रमेश लेखक र एमाले सचिव योगेश भट्टराईले सहमतिबारे बोल्न नसकेको भन्दै जनता र संसदले समेत थाहा नपाउने कस्तो सहमति हो भन्ने प्रश्न गरे ।
‘मध्यरातमा भएको सहमति षड्यन्त्र र छलछाम हो । षड्यन्त्र र छलपछाम होइन भने आजसम्म पनि मध्यरातमा भएको सहमतिबारे किन नबोलेको ? के हो त्यो सहमति ? राष्ट्रिय सहमति खुला बहस गरेर हुन्छ । सहमतिमा भएका कुरा जनताले थाहा नपाउने ? सांसदले सुन्न नपाउने र भाव बुझ्नुपर्ने ?’, उनले भने, ‘ यस्तो ढाँट छलले र षड्यन्त्रले जनता झुक्किँदैनन् । लाखौ जनताको त्याग, बलिदान र घाइतेको समर्पणले अहिलेको संविधान प्राप्त भएको हो । यसअघि बोल्ने दुई जना माननीयज्यूहरुले सहमति लुकाउँदै पछि थाहा हुन्छ भन्नुभयो । राष्ट्रिय सहमति त अगाडि बसेर गर्ने होला नि ? राष्ट्रिय सहमति दलका नेतासँग बसर गर्ने होला नि ? राष्ट्रिय सहमति एक/दुई जना बसेर गर्ने त होइन होला नि ?’।
उनले संविधानले ग्यारेण्टी गरेका उपलब्धीबाट पछाडि फर्काउने षड्यनत्र भए जनतालाई अपिल गरेर सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।