काठमाण्डु, २८ असार– एमाले सचिव योगेश भट्टराईले आफ्ना अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग र नर्क सँगै जाने प्रतिबद्धता दिएको स्वीकार गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि धारणा राख्दै उनले तर, ओलीले स्वर्ग र नर्क जाने भनेको सन्दर्भ प्रचण्डले नबुझेको उल्लेख गरे ।
ओलीको भनाइलाई संविधान संशोधनमा प्रचण्डलाई पनि सँगै लैजान चाहेको र एक्लै नछाड्ने बताएको रुपमा बुझ्न उनको सुझाव थियो । भट्टराईले विद्रोह र प्रतिरोधको भाषा बोल्न छाडेर संविधान संशोधनमा सहभागी हुन आग्रह गरे ।
‘तपाईंका लागि प्रतिरोध र विद्रोहको बाटो छैन, अब त्यो सम्भव छैन । तपाईं पनि यो हलभित्रै हो । हाम्रो अध्यक्षले स्वर्ग र नर्क सँगै जाने भनेको यही हलमा सँगै हुने भनेको हो । तपाईंलाई स्वर्ग पनि सँगै लैजान्छौं’, उनले भने, ‘हामीले भनेको त्यो हो । तपाईंले बुझ्नु भएन । नबुझ्नु तपाईंको दोष हो । बुझिन भन्नुभएन । बुझेको जस्तो गर्नुभयो । तर, खास बुझ्नुभएको रहेनछ । आज हामी बुझाउन चाहन्छौं ।’ भट्टराईले महिला, दलित, मधेसी र मुस्लिमका नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने दुस्वप्न नदेख्न चेतावनी दिए । ‘यो देश कसरी बनेको हो भन्ने हामीलाई थाहा छ । यो देश जातजाती लडाईंबाट होइन, सहअस्तित्वबाट बनेको हो’, उनले भने, ‘हिजो संविधान बनाउने बेलामा त्यो प्रयास भएको थियो । अब फेरि त्यो दुस्साहस नहोस आफ्नो स्वार्थका लागि फेरि त्यसलाइ उधिन्ने काम नहोस् ।’