काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले धोका पाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले ओलीको षड्यन्त्र बुझ्न नसक्दा आफू झुक्किएको बताए ।
कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, र वाम एकताको भावुक बहकाउमा लगेर एमालेसँग गठबन्धन गरेको प्रष्टीकरण उनले दिए ।
गत असारको १७ गते एमाले अध्यक्ष केपी ओलीले बालुवाटार आएर आफूलाई काँग्रेससँग कुनै सहमति नभएको बताएको र आफूले ओलीलाई पत्याउनु गल्ती भएको पनि उल्लेख गरे । ओलीले आफूलाई स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने बताएको जानकारी दिए । सोही दिन मन्त्रिपरिषद बैठकमा आफूले मन्त्रिहरुलाई ओलीसँग राम्रो वातावरणमा कुराकानी भएको र सरकार तलमाथि नहुनेबारे आश्वस्त तुल्याएको स्मरण गरे ।
तर त्यो षड्यन्त्र रहेकोबारे पछि मात्र थाहा भएको र आफ्नो आजको अवस्था, १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै भएको प्रचण्डले बताए । ‘तेज गतिमा सरकार चलाउने हुटहुटी अनि अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो’, उनले भने, ‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो । जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ । त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’
उनले ओलीतर्फ संकेत गर्दै ‘केही मान्छेहरु कहिल्यै पनि कुन्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर हिसाब गर्न नसकेको बताए । समयक्रमसँगै मानिसमा सुधार हुने विश्वास गरेको र लामालामा, मिठा भरोसापूर्ण सम्वादहरुबाट लठ्ठिएको उनले बताए । स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेपछि त मख्ख परेको उनले बताए ।
‘१७ गते बिहान स्वर्ग र नर्क सँगै जाने । ०८४ को चुनाव वामन्थीहरु मिलेर लड्ने । त्यसपछि पार्टी पनि एउटै बनाउने ढुक्क हुनुस् भनेपछि म त मख्ख परेँ,’ उनले भने ।
प्रचण्डले भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’
आफ्नो जस्तो अनुभव नयाँ गठबन्धनमा नहोस् भनेर कांग्रेसलाई शुभकामना दिए ।