काठमाण्डु, २५ असार–काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने करिब पक्काजस्तै भएको छ ।
दुवै दलको उच्च श्रोतले बताएअनुसार राणालाई परराष्ट्रमन्त्री बनाइँदैछ । उनले काँग्रेस–एमाले गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेकी थइन् ।
एमाले अध्यक्ष केपी ओलीले १५ असारमा देउवा–आरजु टेलिफोन गरेर आफ्नो निवास बालकोट आएको सार्वजनिक गरिसकेका छन् । गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेर आफूलाई प्रधानमन्त्री बन्ने वातावरण बनाएकामा ओली आरजुलाई आफ्नो सरकारमा सामेल गराउन चाहन्छन् । आरजु नै सरकारमा सहभागी भएको अवस्थामा सत्ता गठबन्धनको अविष्य दिगो हुने बुझाई समेत ओलीको छ ।
‘केपी ओलीले नै शेरबहादुर दाईलाई आरजुलाई सरकारमा पठाउन भन्नुभएको छ । गठबन्धन निर्माणमा भूमिका खेलेको र राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएका कारण पनि आरजु ओलीको रोजाइमा पर्नुभएको हो’, देउवानिकट एक नेताले भने । एमालेका एक नेताले पनि आरजु मन्त्री बन्ने पक्काजस्तै रहेको बताए । ‘यो गठबन्धन नै उहाँको पहलमा भएकाले उहाँ मन्त्री बन्ने कुरा सामान्य हो’, ती नेताले भने, ‘आरजु देउवा ओली सरकारको गहना हुनुहुनेछ ।’
एमाले र रास्वपाका नेताहरुले भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेपछि पोल खुल्ने डरले आरजुको सक्रियतामा गठबन्धन निर्माण गरिएको आरोप लगाउँदै आएका छन् ।
संसदका दुई प्रमुख दल काँग्रेस र एमालेबीच १७ असारको मध्यरातमा एक व्यवसायीको घरमा सत्ता गठबन्धन गर्ने सहमति भएको थियो । सहमतिको ड्राफ्ट सार्वजनिक नगरिए पनि नेताहरुले देउवा र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने समझदारी भएको बताएका छन् ।
आफूहरुबीच सहमति भएसँगै बहुमत गुमेकाले प्रधानमन्त्रीबाट राजीनामा दिन काँग्रेस–एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका थिए । तर, प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक अधिकार प्रयोग गर्ने बताएपछि ओलीको सत्तारोहण केही लम्बिएको छ ।
विश्वासको मतको प्रयोजनका लागि २८ असारमा प्रतिनिधिसभा बैठक बोलाइएको छ । विद्यमान अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना करिब शून्य छ । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसदको मात्र समर्थन छ ।