तत्कालीन सुर्केगाड गाउँपालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाण्डु टुडे २०८१ असार २४ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, २४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए तर हाल उनी नकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन् ।

त्यस्तै, मुद्दा दर्ता गरिएका कर्मचारीहरूमा गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन् ।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us