काठमाण्डु, २४ असार– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध आक्रोश पोखेका छन् ।
एमाले संसदीय दल बैठकमा आइतबार ओलीले आफूसहित शीर्ष नेताविरुद्ध लामिछानेले भ्रष्टाचार आरोपमा फाइल खडा गर्ने दुस्साहस गरेको बताए । ओलीले पटकपटकका लोकतान्त्रिक आन्दोलनमा राजनीतिक दलसँगै व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका शिक्षकहरुमाथि आस्थाकै आधारमा कारबाही गर्न खोजेकामा शिक्षामन्त्री श्रेष्ठप्रति असन्तुष्टि जनाए । आफूले ठूलो मिहेनतका साथ लामिछानेलाई सत्तारोहण गराए पनि उनले ‘पूराना नेता सिद्ध्याउने नाममा’ आफूलाई गिरीबन्धु टी स्टेट प्रकरणमा फसाउन खोजेको टिप्पणी गरे । ‘रवि लामिछानेलाई मैले धेरै मिहेनत गरेर सत्तामा ल्याएको थिएँ । त्यो बिर्सिएर मलाई पक्राउ गर्ने रे । जेल हाल्ने रे । फाइल खडा गर्ने रे’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । यस्तै शिक्षामन्त्री श्रेष्ठलाई आफूले बोलाएरै राजनीतिक आस्थाका आधारमा शिक्षकहरुमाथि कारबाही नगर्ने भनेको सुनाए । तर, उनले आफ्नो आग्रह अस्वीकार गरेको ओलीको भनाइ थियो ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढाएपछि अचानक दुई ठूला दल काँग्रेस र एमालेले सत्ता समीकरणको सहमति गरेको आरोप लगाउँदै आएका छन् । भुटानी शरणार्थी प्रकरणका दुई फरार अभियुक्त काँग्रेसनिकट बेचन झा र एमाले उपाध्यक्ष रामबहादुर थापा पुत्र प्रतीक पक्राउ परेपछि पोल खुल्ने डरले काँग्रेस–एमाले मिलेको टिप्पणी दुई दलका सांसदले संसदमै गरेका छन् ।