बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले राजीनामा बुझाए

काठमाण्डु टुडे २०८१ असार २४ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २४ असार– नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ सहभागी रहेका थिए ।

अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाण्डुस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us