सप्तकोसीमा पानीको बहाव खतराउन्मुख

काठमाण्डु टुडे २०८१ असार २३ गते १६:११ मा प्रकाशित

काठमाण्डु, २३ असार– शुक्रबारदेखि भएको अविरल बर्षाको कारण सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ ।

आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको । ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्ने क्षमता रहेको छ । त्यसभन्दा माथिल्लो तहमा पानीको सतह पुगेमा खतरा मानिने गरेको छ ।

आज बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन् ।

बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिएका छन ।

पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us