काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेको गठबन्धले मुलुकलाई स्थिरता नदिने बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताएका हुन ।
उनले भने, ‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो, ‘संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटेङि गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो ।
त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।’ सांसद सापकोटाले कांग्रेस एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बीचमा अझै त्यो समझदारी आधिकारिक रूपमा नआएको भन्दै नेताहरूको मिडिया ट्रायल हो वा के हो ? भनेर प्रश्न पनि गरेका छन ।
उनले थपे, ‘दिनभरि प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔँ भन्ने अनि ललितपुरमा सहमति ड्राफ्ट गर्न खटाउने यो कहाँको नैतिकता हो ?’ ।
उनले सत्तापक्षबाट भर्खरै प्रतिपक्षमा पुगेका दलहरूलाई ‘यही हो नैतिकता ?’ भनेर प्रश्न गरे । उनले वेचन झाको गिरफ्तारी र तथ्यहरू सार्वजनिक हुँदै गएपछि कांग्रेस एमालेले डुङ्गा प्वाल परेको देखेको बताए ।