सप्तकोसीमा पानीको बहाव उच्च

काठमाण्डु टुडे २०८१ असार २३ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, २३ असार– शुक्रबारदेखि भएको अविरल बर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुल्ला गरीएको प्रहरीले जानकारी दिएको छ ।

सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरीले जनाएको छ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ ।

८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो । पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us