लौ सुन्नुस् एमाले पसेर हरिबिजोक भएका माओवादी नेताहरुका कथा

कुसुम भट्टराई २०८१ असार २४ गते ९:०८ मा प्रकाशित

कम्युनिष्टहरु भाग्यवाद अनि फाप/अफापमा विश्वास गर्दैनन् । तर, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा, रविन्द्र श्रेष्ठ र लेखराज भट्टजस्ता पूर्वमाओवादी’ नेताहरुका लागि नेकपा (एमाले) मा रहनु अफाप नै सावित भएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी एकीकरणअघिकै अवस्थामा फर्कियो । एमाले र माओवादी केन्द्र दुई अलग दलकै हैसियतमा आए । माउ पार्टीमा फर्किनुको साटो केपी ओलीकै छत्रछायाँमा मन्त्री बन्ने र राजनीतिक हैसियत उच्च बनाउने महत्वाकाँक्षा पालेर एमालेमै रहेका बादललगायतका पूर्वमाओवादी नेताहरुको अहिले सो पार्टीमा हरिबिजोग नै छ ।
एमालेका कुनै पनि महत्वपूर्ण सार्वजनिक कार्यक्रमहरुमा पूर्वमाओवादी नेताहरुलाई देखिँदैन । एमालेमा उनीहरुको कुनै ‘भ्यालु’ नै छैन । राष्ट्रिय महत्वका विषयहरुमा न त पार्टीका तर्फबाट उनीहरुका विचार सुन्न पाइन्छ, न त साँगठनिक सक्रियता । एमालेमा उनीहरु मानौं ‘झड्केलो सन्तान’ सरह छन् ।
हुन त एमालेलाई ‘नेकपाकै निरन्तरता’ को हौवा चलाउन अध्यक्ष ओलीले प्रारम्भमा माओवादी पृष्ठभूमिका नेताहरुलाई दरिलै काखी च्यापेका थिए । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि ओलीले वर्ष २०७७, फागुन २८ मा बादलसहित २३ जना पूर्वमाआवादी नेतालाई केन्द्रीय कमीटीमा मनोनित गरेका थिए ।
त्यसरी मनोनित हुनेहरुमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, टंक आङबोहाङ, पाशाङ शेर्पा, ज्वाला शाह, गौरीशंकर थारु, टेकबहादुर बलम्पाकी, झपट बोहरा, कमल चौंलागाईं, धर्मराज रेग्मी, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, दावा लामा, चन्द्रबहादुर खड्का, रामचन्द्र मण्डल, लीलबहादुर थापामगर, नवीन रोका मगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने र दिनेश पन्थी थिए ।
उतिबेला बादललाई बागमती प्रदेश इन्चार्ज, मणि थापालाई लुम्बिनी प्रदेश इन्चार्ज, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज र टोपबहाद्ुर रायमाझीलाई जनवर्गीय संगठनको इन्चार्ज मनोनित गरिएको थियो । यति मात्र होइन, केही समयपछि बादल, रायमाझी, भट्ट र थापालाई स्थायी कमीटी सदस्य मनोनित गरिएको थियो ।
अहिले यसमा व्यापक हेरफेर भएको छ । यी नेताहरुले आफ्नो यो हैसियत गुमाएका छन् ।
वर्ष २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले केपी ओलीको अध्यक्षतामा १९ पदाधिकारी चयन गर्दा पूर्व माओवादीतर्फबाट बादल उपाध्यक्ष, लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव निर्वाचित भएका थिए ।
जब ‘दश बुँदे समझदारी’ अनुसार अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका असन्तुष्ट नेताहरु एमालेमा फर्किए, पूर्वमाओवादी नेताहरुको बिचल्ली सुरु भयो । उनीहरुको मौजुदा हैसियतमा आनको तान फरक भयो ।
अहिले राजनीतिक रुपमा गुमनाम, निस्क्रिय, ओजहीन र हैसियतहीन अवस्थामा पुगेका पूर्वमाओवादी नेताहरु न माउ पार्टी माओवादीमा फर्किनसक्ने अवस्थामा छन्, न एमालेमै उनीहरुको कुनै प्रभाव र हैसियत छ ।
एमाले अहिले अध्यक्ष केपी ओलीको एकल प्राधिकारमा संचालित छ । ओली र उनी निकटका केही नेताहरुको ‘कोटरी’ ले नै पार्टीको समग्र संचालन गरिरहेको छ । पूर्वमाओवादी नेताहरुलाई न त ओलीको कोटरीमा कुनै स्वागत छ, न पार्टीले उनीहरुको राजनीतिक भविष्यकै सुरक्षाको चिन्ता लिइरहेको छ । एक हिसाबले एमालेमा उनीहरु अनाथ, लाचार, निरीह र बिचल्लीको अवस्थामा पुगेका छन् ।
गुमनाम बादल
जनयुद्ध कालमा रामबहादुर थापा ‘बादल’को जुन ओज, हैसियत र प्रभाव थियो, त्यो अहिले क्षीण भइसकेको छ । विद्रोहकालमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै एक सारथीका रुपमा रहेका र माओवादी जनयुद्धमा विशिष्ट भूमिका निर्वाह गरेका बादल अहिले कुन हदसम्म लाचार भइसकेका छन् भने एमाले अध्यक्ष ओलीले बारम्बार ‘जनयुद्ध हिंसात्मक र आततायी कदम’ भनिरहँदा पनि उनी त्यसको प्रतिवाद गर्न सकिरहेका छैनन् ।
वर्ष २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएपनि बादलको भूमिका एमालेमा खासै केही देखिँदैन । श्रीमती नैनकला थापालाई साँसद बनाउनुबाहेक एमालेमा बादलको उपस्थितिको उपादेयता अब खासै देखिँदैन ।
एमालेमा रहँदा नियती र परिस्थितिले पनि बादललाई अँठ्यायो । वर्ष २०७८ जेठमा बादलमाथि एकै दिन दुईवटा बज्रपात प¥यो । पहिलो त उनी बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पराजित भए । उनलाई नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको समर्थनमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले खडा गरेका उम्मेदवार डा. खिमलाल देवकोटाले हराए ।
वर्ष २०७४, माघ १४ मा माओवादीबाट उम्मेदवार हुँदा भने उनी बागमती प्रदेशबाट सहजै निर्वाचित मात्र भएका थिएनन् । त्यसको एक महिनापछि नै माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गृहमन्त्री बनेका थिए । तर, दोश्रोपटक उम्मेदवार बन्दा राष्ट्रिय सभामा पराजयको घोषणा हुनु दुइए घण्टाअघि नै सर्वोच्चको आदेशबाट उनी गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए ।
एमालेमा रहनुको मूल्य चर्को भयो । बादलले एकसाथ तीन चिज गुमाए, गृहमन्त्री, राष्ट्रियसभा सदस्य र माउ पार्टी माओवादी । अहिले उनी एमालेमा करिबकरिब निस्क्रिय झैं छन् ।
गएको निर्वाचनमा पनि उनी उम्मेदवार बनेनन् । निर्वाचन अभियानमा पनि कतै देखा परेनन् । ‘एमाले मेरो पार्टी हो’ भन्ने स्वामित्वबोध या अपनत्वबोध उनमा देखिँदैन भने तत्काल माओवादी केन्द्रमा फर्किने पक्षमा पनि उनी देखिँदैनन् । एक हिसाबले राजनीतिबाटै निस्क्रिय, भूमिकाहीन र चर्चाहीन अवस्थामा उनी पुगेको देखिन्छ ।
यस्तोमा नियतीले अर्को बज्रपात पा¥यो । बादल पुत्र प्रतीक थापा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको अभियोगमा पक्राउ परेका छन् । बादल गृहमन्त्री भएका बेला उनका स्वकीय सचिव भएका प्रतिक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार भएका थिए । उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो ।
पुत्र जेलमा छन्, एमालेमा आफ्नो राजनीतिक हैसियत धरापमा छ । कुनै राजकीय पदमा पनि छैनन् । जनयुद्धकालीन आफ्ना सहयात्रीहरुसँगको सम्बन्ध र साथ छुटिसकेको छ । यस्तोमा बादल कहिलेसम्म एमालेमै गुमनाम, निश्कृय र निश्पृह राजनीतिक जीवन बिताउलान् ? भन्ने प्रश्न उनका शुभचिन्तकहरुको पनि छ ।
टेन्सनमा टोपबहादुर
एमालेको दशौं महाधिवेशनपछि एमालेको सचिव निर्वाचित हुँदा टोपबहादुर रायमाझीको फूर्तीफार्ती निकै थियो । उनले सार्वजनिक मञ्चहरुमा माओवादी केन्द्र र अध्यक्ष प्रचण्डकै आलोचना गर्न थालेका थिए ।
कुनैबेला एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’, घोर दक्षिणपन्थी, ढुलमुले, लिंग नछुट्टिएको, अवसरवादी, दलाल एकाधिकार पुँजीपति वर्गको पृष्ठपोषकसम्मको आरोप लगाउने रायमाझीले पछिल्ला दिनहरुमा माउ पार्टी माओवादी केन्द्रलाई नै ‘कम्युनिष्ट आन्दोलनबाट विचलीत’ भन्न थालेका थिए ।
आखिर समयले देखाइदियो, कम्युनिष्ट आचरण, इमानदारिता र सर्वहारा वर्गीय चिन्तनबाटको स्खलित भएको रहेछ ? नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले टोपबहादुर रायमाझी र उनका पुत्र सन्दीप रायमाझी दुवै पक्राउ परिसकेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनेक ‘भिटो’ प्रयोग गरेर यही मुद्दामा पक्राउ परेका बालकृष्ण खाँडलाई छुटाउन सफल भए पनि एमाले नेतृत्वले रायमाझीको बचाउ गरेन । उल्टै एमालेले वर्ष २०८०, वैशाख २७ मा रायमाझीलाई पार्टीबाटै निलम्बन ग¥यो ।
एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्र्दै भनेका थिए, ‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रिय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रकृया अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड ७ महिनाको हिरासतपछि उच्च अदालतको आदेशपछि ३० लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । यही प्रकरणमा मुछीएकी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई राज्यले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
तर, एमाले सचिव रायमाझी भने अहिले पनि हिरासतमै छन् । यदि पूर्व माओवादी नेताको स्थानमा एमालेका खाँटी र ओली निकटका नेता यसरी पक्राउ परेका हुन्थे भने सिंगो एमाले पार्टी उनको बचाउनमा भिड्थ्यो होला, तर पूर्व माओवादी नेता भएकै कारण रायमाझीको बचाउमा पार्टीले खासै वास्ता गरेन, उल्टै निलम्बन गरिदियो ।
यसबाट रायमाझीको राजनीतिक भविष्य त चौपट भएको छ नै, माउ पार्टी छाडेर ‘घाँसमा लुकेको हरियो सर्प’ सँग बस्दाको दुश्परिणाम पनि प्राप्त भएको छ ।
‘मणि हराएका मणि
माउ पार्टीलाई लत्याएर एमालेमै रहेका अर्का नेता स्थायी कमीटी सदस्य मणी थापा अहिले ‘मणी’ हराए सरह भएका छन् । सांस्कृतिक फाँटका यी हस्ती पनि अचेल घर न घाटको भएका छन् ।
निर्वाचनलगत्तै मणिले एमालेबाट ‘बिदा’ मागे । एमालेको अन्तर पार्टी निर्देशनमै भनिएको थियो, ‘थापाले छुट्टी माग्नुभयो, हामीले दियौं ।’
एमालेमा टिक्नै नसक्ने अवस्थामा पुगेका थिए मणि । माओवादीमा रहँदाको जस्तो सम्मान, गौरव र क्रान्तिकारी छवि एमालेमा रहँदा प्राप्त हुन नसकेपछि थापालाई उकुसमुकुस भइसकेको थियो ।
एमालेका खाँटी नेता कार्यकर्ताले थापालगायतका पूर्वमाओवादी नेताहरुलाई ‘दोश्रो दर्जाको नेता’ सरह व्यवहार गर्न थालेपछि उनीहरुले ‘ह्यूमिलिएसन’ महसुस गर्न थालेका थिए । माओवादी केन्द्रमा पछिल्ला दिनमा केही भ्रष्टीकरण र नैतिक विचलन देखा परेकै हो । तर, माओवादीको दाँजोमा एमालेमा झन् बढी विचलन र वैचारिक स्खलन देखेपछि थापालाई लाग्यो, बेकारमा एमालेमा लागिएछ ।
यसै मेसोमा दुई वर्षअघि मणि थापाले हाल एकीकृत समाजवादीका नेता घनश्याम भुषालले काभ्रेको पनौतीमा आयोजना गरेको कार्यक्रममा एमालेलाई ‘दक्षिणपन्थी’ भन्दै चर्को आलोचना गरे । यो कुरा थाहा पाएपछि एमाले अध्यक्ष ओलीले थापालाई बेस्सरी झपारे ।
ओलीसँगको यो कटुतापछि थापाको मन भाँचियो । गएको निर्वाचनलगत्तै एमालेले सञ्चालन गरेको ‘ग्रास रुट अभियान’ मा पनि उनी सहभागी भएनन् । बरु, उनले पार्टीबाट ‘बिदा’ मागे । अर्थात त्यसयता उनी एमालेमा निस्क्रिय छन् ।
बीचमा एकाधपटक उनको नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेटवार्ता भए पनि उनी विप्लवको पार्टीमा पनि प्रवेश गरिसकेका छैनन् । अहिले मणि थापाको अवस्था भनेको, न एमाले, न माओवादी हो । अर्थात उनी अहिले करिब–‘पार्टी बिनाको शरणार्थी’ सरह गुमनाम छन् ।
लोलाएका लेखराज
माओवादी जनयुद्धताका सुदूरपश्चिममा लेखराज भट्टको व्यापक ‘क्रेज’ थियो । कपालमा रातो मेहन्दी लगाउन मन पराउने भट्ट आकर्षक व्यक्तित्वका धनी मात्र हैन, सुदूरपश्चिमका ‘सितारा’ नै मानिन्थे ।
अचेल लेखराजको त्यो ‘क्रेज’ घटेको छ । माउ पार्टीलाई उपेक्षा गर्दै एमालेमै रहेका भट्टको राजनीतिक हैसियतसमेत अन्यौलमा रहँदै आयो ।
सर्वोच्चको आदेशपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएकाा बेला एमाले अध्यक्ष केपी ओलीले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज मनोनित गरेका थिए । तर, एमालेका असन्तुष्ट नेताहरुबीच भएको ‘१० बुँदे’ सहमति कार्यान्वयन भएपछि सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल स्वतः हुने अवस्था बन्यो ।
तैपनि भट्टले बारम्बार आफू नै सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गर्दै हिंडिरहनुप¥यो । रावलले पनि त्यो दाबी गर्न छाडेनन् । आफूप्रति आक्रामक रावलको ठाउँमा ओलीले ‘भट्ट नै इन्चार्ज’ भनेर त भनिदिए, तर स्थानीयस्तरमा रावल र भट्टको दुई खेमा निर्माण भयो ।
यसको नकारात्मक परिणति भट्टले गएको निर्वाचनमा भोग्नुप¥यो । कैलाली–४ बाट संघीय संसद सदस्यको उम्मेदवार खडा भएका भट्ट काँग्रेसका वीरबहादुर बलायरसँग करिब तीन हजार मतले पराजित भए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव टोपबहादुर रायमाझी मुछिएपछि वर्ष २०८०, जेठमा बसेको सचिवालय वैठकले ६ प्रदेशका इन्चार्ज तोक्दा भट्टलाई कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी दिइयो । सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने छविलाल विश्वकर्मालाई बनाइएको छ ।
निर्वाचनमा पराजित भएपछि लोलाएका लेखराज अहिले आफ्नो प्रदेशबाट कर्णालीमा सरुवामा परेका छन् । पार्टीमा उनको कुरो कसैले सुन्दैन । उनी पनि एमालेमा बिचल्लीमै परेका छन् ।
‘उदास’ छन् रवीन्द्र
माओवादी जनयुद्धताका पार्टीभित्रै विवादमा आएका प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) शान्ति प्रक्रिया प्रारम्भ हुनासाथ माओवादी परित्याग गरी एमालेमा प्रवेश गरे ।
माओवादीबाट कतिपय गोप्य सूचनाहरु तात्कालीन शासक वर्गलाई दिएको आरोप समेत लगाइएका श्रेष्ठलाई एमालेले राम्रै खातिरदारी ग¥यो । एमालेले उनलाई पोलिटब्युरो सदस्य मात्र बनाएन, माधव नेपाल प्रधानमन्त्री बन्दा उनलाई मन्त्रीसमेत बनाइयो ।
जसै झलनाथ खनाल प्रधानमन्त्री भए, मन्त्री निवासबाट आफूले प्रयोग गरेका सवारी साधन र अन्य सामानसमेत छाडेर उनी एकाएक गायब भए । पछि थाहा भो, उनी पत्नी र छोरीलाई समेत गुमराहमा राखेर त्रिचन्द्र कलेजमा अध्ययनरत् धादिङकी एक अखिल कार्यकर्ता लिएर भागेका रहेछन् ।
पार्टीका पोलिटब्युरो सदस्य एवं निवर्तमान मन्त्रीको यस्तो हर्कत विभिन्न मिडियामा छरपस्ट भएपछि वर्ष २०६७, फागुन ४ मा बसेको एमाले अनुशासन आयोगको वैठकले रवीन्द्रलाई पार्टी सदस्यता र अन्य जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
अनुशासन आयोगका तात्कालीन अध्यक्ष अमृत बोहराले त्यसबेला जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास, सुनौलो भविष्य र आमुल क्रान्तिकारी परिवर्तनको लक्ष्य बोकेको एमाले पार्टीका पोलिटब्युरो सदस्य एवं नेपाल सरकारका निवर्तमान मन्त्री रवीन्द्र श्रेष्ठको आचरण र क्रियाकलापका सम्बन्धमा संचार माध्यममा प्रकाशित खबरप्रति अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निजको नैतिक आचरण एवं क्रियाकलापबाट हाम्रो पार्टीलाई गम्भीर आघात पुग्न गएको हुँदा निजलाई पार्टी सदस्यता एवं पदीय जिम्मेवारीबाटसमेत निलम्बन गरिएको छ ।’
अनुशासनको कारबाहीमा परेपछि उनको राजनीतिक यात्रामा बिराम लाग्यो । अचेल उनको नामोनिसान भेटिदैन । केही वर्षअघि उनले प्रेम सम्बन्धमा आधारित रहेर उपन्यास ‘उदास’ प्रकाशन गरेका थिए । अवश्य, यतिबेला रवीन्द्र र उनीजस्ता एमालेमा लागेका अधिकांश नेता ‘उदास’ नै छन् ।
यसबाट स्पष्ट हुन्छ, आफूले जन्माएको, हुर्काएको, लगानी गरेको र अधिकांश समय व्यतित गरेको माउ पार्टीलाई छाडेर बिरानो पार्टीमा लाग्नेहरुको कसरी हरिबिजोग हुँदोरहेछ भनेर ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us