वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार २२ गते १६:४४ मा प्रकाशित

काठमाण्डु, २२ असार– प्रहरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप रहेको छ । उनीहरूको ठगीबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

जीवन कडरियाले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डुको मैतीदेवीबाट पक्राउ गरेको हो ।

त्यस्तै, चुडाबहादुर खड्काले तीन जना पीडितलाई दक्षिण कोरिया पठाइदिन्छु भनेर १७ लाख रुपैयाँ उठाएर फरार भएका थिए । उनलाई काठमाण्डुको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुवैलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us