काठमाण्डु, २२ असार– प्रहरीले रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका९९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका–९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।
गुप्ताको समूह र गौर नगरपालिका–३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद सुरु भएको थियो ।
केही दिन अघि विद्यालय पढ्न जाँदा राइस मिलको पश्चिमतर्फको सडकमा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीले जानकारी दिएको छ ।
सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजे उनीहरूमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन ।
छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन् । उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो । तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ ।