
एजेन्सी– युरो २०२४ को अन्तिम १६ मा स्लोभानियाविरुद्ध पेनाल्टीमा चुकेका विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्व प्रसिद्ध समाचार संस्था बीबीसीले मजाक उडाएको छ ।
बीबीसीले मजाक उडाए पछि बीबीसी यतिबेला आलोचनाको केन्द्रमा छ । रोनाल्डोको समर्थकहरूले बीबीसी स्पोर्टको सामाजिक सञ्जाललाई रिपोर्ट र अनफलो गर्ने अभियान नै चलाएका हुन् ।
रोनाल्डो पेनाल्टीमा चुक्दा १२० मिनेटसम्म खेल गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा विजयी बन्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
अल–नासरका स्टारको पेनाल्टी जोन ओब्लाकले रोकेका थिए । त्यसको केही मिनेटपछि उनी मैदानमा नै रुन पुगेका थिए । बीबीसीले पछि पेनाल्टीको रिभ्यू गर्दा त्यसलाई ‘मिस्टियानो पेनाल्डो’ शीर्षक दिएको थियो । इंग्ल्यान्डका पूर्वखेलाडी जोन टेरीले बीबीसीको प्रसारणको आलोचना गर्दै लेखेका छन्, ‘बीबीसी, यो कलङ्क हो ।’
जोन टेरीमात्र होइन सामाजिक सञ्जालमा बीबीसीले रोनाल्डोको अपमान गरेकामा व्यापक आलोचना भइरहेको छ । धेरैले बीबीसीको यो हर्कतलाई लज्जास्पद भनिरहेका छन् ।