लुम्बिनी प्रदेश मन्त्रालयहरू डुबानमा

काठमाण्डु टुडे २०८१ असार २२ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, २२ असार– अविरलको वर्षाको कारण लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले जानकारी दिएका छन । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले जानकारी दिएका छन ।

राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ । दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ ।

लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन । राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।

बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us