भुटानी शरणार्थी प्रकरण : बेचन झाको मोबाइल फरेन्सिक ल्याब पठाइयो

काठमाण्डु टुडे २०८१ असार २१ गते १५:३२ मा प्रकाशित
काठमाण्डु, २१ असार–   नक्कली भुटानी शरणार्थी प्रकरणमा  पक्राउ परेका बेचन झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० मा पठाइएको छ । भारतबाट नेपाल प्रहरीको विशेष टोलीले  पक्राउ गरेका झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डीएफएलमा पठाइएको जिल्ला प्रहरी परिसर  काठकमण्डु स्रोतले जानकारी दिएको छ ।
तर ती मोबाइलबाट थप प्रमाण खुल्नेमा भने प्रहरी अधिकारीहरू ढुक्क छैनन् ।  एक  वर्षसम्म फरार रहेकाले झाले मोबाइल नै परिवर्नत गरेको हुनसक्ने भएकाले बरामद मोबाइलबाट थप प्रमाण फेला पर्न गाह्रो हुने प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपी झाले भने बरामद मोबाइल भने पुरानै रहेको जानकारी दिएको प्रहरी स्रोतले जनाएको छ ।
भारतबाट पक्राउ गरी स्थलमार्ग हुँदै काठमाण्डु ल्याइएका झाविरुद्ध दोस्रो पटक बिहीबार मात्रै ५ दिनको म्याद थप भएको छ । एक साताअघि शुक्रबार पक्राउ परेका झाविरुद्ध पहिलो पटकका लागि ७ दिनको म्याद थप भएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डुले डीएसपीको कमाण्डमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको छ ।
झाविरुद्ध संगठित ठगीको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई रहेको छ । प्रहरीले झासँग प्रारम्भिक सोधपुछ गरेको छ । यद्यपी झाले भुटानी शरणार्थी प्रकरणमा भएको ठगीबारे जानकार नभएको दाबी गर्दै आएका छन् । नेताहरूसँग भने चिनजान सम्बन्ध रहेको बताउने गरेको परिसरका एक अधिकारीले जानकारी दिएका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै झा फरार थिए । तर उनको संलग्नता भने अनुसन्धानको अन्त्यतिर मात्रै खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।
प्रकरणका मुख्य आरोपी मध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका थिए । त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us