एमाले आजदेखि प्रतिपक्षमा

काठमाण्डु टुडे २०८१ असार २१ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, २१ असार– एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदलाई औपचारिक जानकारी गराएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संसद् सचिवालयमा सूचना दिएका हुन् । योसँगै एमाले अब प्रतिपक्षी बेन्चमा बस्ने जानकारी बर्तौलाले दिए ।

‘वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच राष्ट्रिय गत १७ असारको मध्यरातमा सत्ता समीकरणसहित संविधान संशोधनको सहमति भएको थियो ।

प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक अधिकार प्रयोग बताएका छन् । एमाले र काँग्रेसले भने आफूहरुबीच सहमति भएसँगै सरकारले बहुमत गुमाएकाले मार्गप्रसस्त गर्न आग्रह गरिरहेका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us