काठमाण्डु, २० असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज बिहिबार फैसला सुनाउँदै छ ।
न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाइने भएको छ । यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो ।
तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा परेको थियो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दा हेर्दै राखिएको थियो ।
बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दा हेर्दै भएकाले हिजो स्थगित गरीएको थियो । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्ने गरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ । उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।