काठमाण्डु, २० असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन ।
कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताएका थिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो ।
प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई समेत फिर्ता बोलाएको थियो । अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
सरकार अल्पमतमा भए पनि प्रधानमन्त्रीले राजीनामा नदिने सचिवालयका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिएका छन ।
असार २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची नभएको पनि उनले जानकारी दिएका छन ।
यस्तै बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति तथा श्रममन्त्री डोरप्रसाद अर्याल लगायतसँगको भेटमा पनि आफूले राजीनामा नदिने संसद्बाट विश्वासको मत लिने बताएका थिए ।
रास्वपाका मन्त्रीहरूलाई पनि अहिले राजीनामा नदिन प्रचण्डले भनेको रास्वपाका नेताहरूले बताएका छन् । असार १७ गते कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको थियो । यो सहमतिपछि अल्पमतमा परेका प्रचण्डले ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।