
काठमाण्डु, ११ असार– आईसीसी टी–२० विश्वकप २०२४ सुपर–८ मा भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ । ग्रुप– १ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
भारतले सेमिफाइनलमा ग्रुप–२ को उपविजेता इंग्ल्यान्डसँग खेल्ने भएको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सफल भएको थियो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए ।
मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाएका थिए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा बनाउन सफल भएका थिए । भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
अक्षर पटेल र जस्प्रित बुमराहले १–१ विकेट लिन सफल भएका थिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाउन सफल भएका थिए । मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए ।
त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए । ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।
सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भएका थिए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाउन सफल भएका थिए ।अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।
जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
अव अफगानिस्तान र बंगलादेश सुपर– ८ को अन्तिम खेल भोली विहान खेल्नेछन् । उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ । पहिलो पटक सेमिफाइनल खेल्न अफगानिस्तानलाई अन्तिम खेलमा जित पर्याप्त हुनेछ ।