
एजेन्सी– कोपा–अमेरिका फुटबलमा शनिबार बिहान भएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोक्न सफल भएका छन । गोलरहित बराबरीमा खेलेसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अङ्कसहित अर्जेन्टिना तालिकाको शिर्ष स्थानमा रहेको छ ।
एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन ।
समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो । कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ । प्रतियोगितामा १६ वटा टोली सहभागी रहेका छन ।