टी–२० विश्वकप :अस्ट्रेलियाले हरायो बङ्गलादेशलाई

काठमाण्डु टुडे २०८१ असार ८ गते १०:४० मा प्रकाशित

एजेन्सी– आज शुक्रबार भएको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराउन सफल भएको छ ।

‘सुपर–८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित हो ।‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा एक–एक खेल खेलेका भारत र अस्ट्रेलियाको दुई–दुई अङ्क रहेका छन । बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।

उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाउन सफल भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us