
एजेन्सी– फ्रान्सका स्ट्राइकर किलियान एम्बाप्पेले आफ्नो नयाँ क्लब रियल मड्रिडले आफूलाई यो वर्ष पेरिसमा हुने ओलम्पिक्समा भाग लिने अनुमति नदिने दाबी गरेका छन ।
२५ वर्षीय खेलाडीले ओलम्पिक्समा खेल्ने आफ्नो चाहना रहे पनि रियलले युरो २०२४ मा सहभागी हुने कुनै पनि खेलाडीले ओलम्पिक्समा खेल्न नपाउने बताएको खुलाएका छन ।
यसले गर्दा गत जुन ३ मा घोषणा भएको फ्रान्सको प्रारम्भिक टोलीमा समेत उनको नाम समावेश नभएको उनले बताएका छन । पेरिस सेन्ट जर्मेनसँगको उनको करार यही जुन ३० मा समाप्त हुँदैछ ।
उनले त्यसपछि रियल मड्रिडसँग अनुबन्ध हुने सहमति गरेका छन । सोमबार युरो २०२४ मा हुने अस्ट्रियाविरुद्धको खेलअघि एम्बाप्पेले भने, ‘मेरो क्लबको भनाई स्पष्ट छ, त्यही भएर म ओलम्पिक्समा भाग लिन्नँ ।’ उनले थपे, ‘म फ्रान्सको टोलीलाई शुभकामना दिन चाहन्छु ।
म हरेक खेल हेर्नेछु । आशा छ टोलीले स्वर्ण पदक जित्नेछ ।’ पुरुष ओलम्पिक फुटबल प्रतियोगिता युरो फाइनलको १० दिनपछि २५ जुलाईबाट सुरु हुँदैछ ।
यो अगस्त ९ मा सकिन्छ, जुन ला लिगा सिजन सुरु हुनुभन्दा एक हप्ता अघि हो । ओलम्पिक फुटबल प्रतियोगितामा यू–२३ टोलीले भाग लिन्छ ।
तर, हरेक राष्ट्रले ३ जना २३ वर्षमाथि खेलाडीहरू समावेश गर्न पाउँछ । दुईपटकको युरोपियन च्याम्पियन फ्रान्स युरो २०२४ को प्रमुख दाबेदार टोली हो ।