
काठमाण्डु, २५ जेठ– टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । आज शनिबार भएको रोमाञ्चक खेलमा बंगलादेशसँग श्रीलंका २ विकेटले पराजित भएको हो ।
जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्न सफल भएको थियो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए ।
उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए । विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।
मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिन सफल भएका थिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए ।
रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिन सफल भएका थिए । श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए ।
उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे । भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।