नीति तथा कार्यक्रम निराशा चिर्ने र आशा जगाउने गरी आएको छ: पूर्वअर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ जेठ १३ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको दाबी गरेका छन ।

गत १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा टेबल भएको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दलगत प्रतिनिधि गर्दै पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले समग्रमा सरकारले उत्कृष्ट र वर्तमान आर्थिक स्थितिलाई सम्बोधन गर्ने गरी आएको पनि बताएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले भने, ‘नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक दृश्यलाई मनन गरेको छ । १६औँ पञ्चवर्षीय योजनालाई आत्मसात् गर्न खोजेको छ ।

दिगो विकासका लक्ष्यलाई पछ्याउन खोजको छ । एडडीसी ग्यार्जुएसनपछि उत्पन्न हुन सक्ने चुनौती र अवसरलाई कसरी म्यानेज गर्ने भनेर दृष्टिकोण अघि सारेको छ, ‘यस्तो कार्यक्रमलाई प्रतिपक्षीले विरोध गरेर होइन आत्मसात् गर्नुपर्ने थियो । तर यसो हुन सकेन ।’

सभामा पूर्व मन्त्री पौडेलले नीति तथा कार्यक्रमले समतामूलक विकास र योजना छनोट गर्दै भ्रष्ट्राचार न्यूनीकरण गर्ने र सार्वजनिक ऋणलाई समुचित प्रयोगमा लगानी सरकारले प्रतिबद्धता जनाएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us