एमाले प्रतिनिधि परिषद् बैठकमा निस्शुल्क वाईफाई

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १८:०० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालले भोली शनिबार देखी ललितपुरको गोदावरीमा सुरु हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।

एमालले बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको एमालेका एक नेताले जानकारी दिएका छन ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ ।

ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् । परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाटै लिने व्यवस्था गरिएको बताएका छन ।

उनका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिनेछ । २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार, दशौं महाधिवेशनका दुई हजार ७३ जना प्रतिनिधि बाहेक केन्द्रीय कमिटीका सदस्य, विभिन्न निकायमा मनोनीत सदस्य समेत यो बैठकमा सहभागी हुन एक नेताले जानकारी दिएका छन ।

दुई दिन चल्ने यो बैठकले दशौं महाधिवेशन यता पार्टीले गरेको निर्णयहरुको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने महासचिव पोखरेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us