पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन ।

आज (सोमबार) नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउका हुन ।

उनले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको दाबी गरेका छन । उनले भने, ‘आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ, भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निरासाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us