मुख्यमन्त्री शर्माले आज विश्वासको मत नलिने, प्रदेशसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८० चैत २० गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २० चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि एमाले र माओवादी केन्द्रका नेताहरुबीच भएको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णाली सरकारको नेतृत्व एमालेले लिने सहमति भएको छ । तर कर्णालीमा मुख्यमन्त्री रहेका माओवादी नेता शर्माले आफूले पद नछोड्ने भन्दै विश्वासको मत लिन प्रदेशसभा बैठक माग गरेका थिए ।

त्यस अनुसार मंगलबार तय भएको बैठक स्थगित गरिएको हो । तर मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिदिन भन्दै प्रदेश सभालाई पत्र पठाएको पनि स्रोतले जानकारी दिएको छ । सरकारले पत्र पठाएपछि बुधबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिएका छन ।

मुख्यमन्त्रीले पठाएको पत्रमा विशेष कारणवश मंगलबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधबारका लागि सार्न भनिएको छ ।

‘विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकाले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव २०८० चैत्र २१ गते सारी प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन पुनः कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ९५० बमोजिम सूचना गरेको छु’, मुख्यमन्त्रीले प्रदेश सभामा पठाएको पत्रमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us