
काठमाण्डु, २० फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन । आज आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ ।खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका थिए ।
नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् ।
दुबै टोलीका कप्तान र प्रशिक्षक हात मिलाएर फर्किएका छन् । खेल नहुने भएपछि दुबै टोलीका खेलाडीले ड्रेसिङ रुममा हात मिलाएका छन् ।