नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डु टुडे २०८० फागुन १९ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– आज शनिबार त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुँदै छ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने दबाब रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको थियो । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक प्रप्त हुने छ ।

आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ ।

त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए ।

दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । नेपालविरुद्ध डेब्यू गरेका माइकल लेभिटले उक्त खेलमा ५४ रन बनाएका थिए ।

नामिबियाविरुद्ध १३५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । आक्रामक र क्लासिक ब्याटर लेभिटको विकेट समयमै लिन आवश्यक देखिन्छ । म्याक्स ओडाउड पनि घातक बन्नसक्ने ब्याटर हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us