
काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाउन सफल भएको थियो ।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । उनी ५५ रनमा नट आउट भएका हुन । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।
आरिफ ३१ रनमा आउट भएका थिए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भएका थिए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।