नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो

काठमाण्डु टुडे २०८० फागुन १७ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । आज बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाउन सफल भएको थियो ।

कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।द नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

यसका अतिरिक्त जारी शृंखलामा कुनै पनि टोलीले बनाएको पनि यो सबैभन्दा ठूलो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

उनले एक सय ३५ रन बनाएका थिए । जारी शृंखलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन पनि हो । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका प्रहार गरेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेलेका थिए । साइब्रान्डले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपेका थिए ।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८८ रनमात्र बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको नामिबियाका दुबै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकले सर्वाधिक ४२ रन बनाएका थिए ।

नामिबियाका लागि तल्लो क्रमका ब्याट्सम्यान जेन ग्रिनले पनि अविजित ४२ रनको योगदान गरे । उनले केवल २० बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए । नामिबियाका लागि जिन पियर कोट्जीले २६ रन बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us