नामिबियालाई नेदरल्यान्ड्सले दियो २४८ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० फागुन १७ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ ।

आज (बिहिबार) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाउन सफल भएको थियो ।

जारी शृङ्खलामा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले एक सय ३५ रन बनाउन सफल भएका थिए ।

जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका प्रहार गरेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेले । उनले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए । तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपे । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us