
काठमाण्डु, १५ फागुन– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएर अन्त्येष्टि गरेका हुन् ।
आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।
स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान रहेको छ ।
मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् ।