अबदेखि बिलबुक नवीकरण नभएका सवारीलाई ट्राफिकले कारबाही नगर्ने

काठमाण्डु टुडे २०८० फागुन १३ गते ८:१५ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– ट्राफिक प्रहरीले अबदेखि सवारी किताब (बिलबुक) नवीकरण फेल भएका सवारी धनीलाई कारबाही नगर्ने भएको छ ।

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले बिलबुक नवीकरणको म्याद नाघेकालाई प्रहरीले कारबाही गर्न नमिल्ने बताए ।

त्यस्ता सवारी धनीसँग यातायात व्यवस्था कार्यालयले जरिवाना गर्ने व्यवस्था भएकाले चिट काट्ने काम प्रहरीको नभएको उनको भनाइ थियो । यसअघि आर्थिक वर्ष नाघेपछि बिलबुक नवीकरण नगरिएका सवारीलाई ट्राफिक प्रहरीले चेकजाँच गरी चिट काट्ने र जरिवाना लिने गर्दै आएको थियो ।

प्रहरीले यातायात व्यवस्था कार्यालयको अधिकार क्षेत्रमा हस्तक्षेप हुने गरी नवीकरण नभएको घटनामा अबदेखि कहिल्यै चिट नकाटिने प्रतिबद्धता उनले जनाए ।

श्रेष्ठले यातायता व्यवस्था कार्यालयले जरिवाना गर्ने भएपछि नागरिकलाई दोहोरो जरिवाना गर्न नमिल्ने निस्कर्षसहित सो व्यवस्था हटाइएको बताए । ‘ट्राफिक प्रहरीको काम बिलबुक नवीकरण भए/नभएको हेर्ने होइन’, एसएसपी श्रेष्ठले भने, ‘नवीकरण फेल भएका सवारीलाई यातायात कार्यालयले जरिवाना लगाउने हो ।’

ट्राफिकको काम सवारी चालक अनुमतिपत्र चेकजाँच गर्ने तथा सवारी अनुशासन उल्लंघन गर्नेमाथि मात्र कारबाही गर्ने भएको प्रष्टीकरण उनले दिए । यसअघि जे कारणले बिलकुल हेर्ने गरिएको भए पनि अबदेखि त्यस्तो नगर्न मातहत निकायलाई निर्देशन दिइसकिएको श्रेष्ठले बताए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us