
काठमाण्डु, २९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन ।
आज (सोमबार) नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले यस्तो बताएका हुन । उनले भोली देशभरि जनयुद्ध दिवस मनाउने बताएका छन ।
प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्यो, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं ।
तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’ उनले भोलि १ फागुनमा काठमाण्डुमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताएका छन ।
प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।