नेपालको सार्वजनिक ऋणको २३ खर्ब ८४ अर्ब रुपैयाँ

काठमाण्डु टुडे २०८० माघ ८ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, ८ माघ– नेपालको सार्वजनिक ऋणको २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो एक महिनामा ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले बढेको कार्यलयले जानकारी दिएको छ । यद्यपि, समीक्षा अवधिमा आन्तरिक तथा बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ प्राप्ति गरिएकोमा ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ ऋणको सावाँ ब्याज भुक्तान गरिएको समेत कार्यालयले जानकारी दिएको छ । पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५०।५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९।५ प्रतिशतको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पुस मसान्तसम्म आन्तरिकतर्फको ऋणको सावाँ ब्याज गरी ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरीएको उल्लेख गरीएको छ । भुक्तान पछि आन्तरिक ऋण हाल ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।

यस्तै, समीक्षा अवधिमा बाह्यतर्फ २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको सरकारले ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । आकार वार्षिक बजेट भन्दा १।३६ गुणा अर्थात् ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको अनुमानित कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us