एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो

काठमाण्डु टुडे २०८० माघ ७ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ७ माघ– एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशतले घटेको छ । गत साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरीएको छ ।

गत वर्षको यस अवधिमा यस्तो नाफा तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफा घटेको देखीन्छ ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ । त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ रहेको छ ।

जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो । बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो ।

त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ । यहीं अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us