मूल्य वृद्धिदर उल्लेख्य मात्रामा घट्यो

काठमाण्डु टुडे २०८० पुष २६ गते १९:०८ मा प्रकाशित

काठमाण्डु, २६ पुस– गत मंसिरमा मूल्य वृद्धिदर घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.९५ प्रतिशत रहेको देखाएको हो । गत वर्षको सोही अवधिको तुलनामा यो २.४३ प्रतिशतले कम हो ।

२०७९ मंसिरमा मूल्य वृद्धिदर ७.३८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४.८४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सोही अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य दुई पटक घटाएको तथा ०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकाले मूल्यवृद्धिमा कम चाप परेको प्रतिवेदनमा उल्लेख छ ।

गत मंसिरमा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मूल्य वृद्धिदरमा कमी ल्याउन सहयोग पुगेको भनाइ राष्ट्र बैंकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us