
काठमाण्डु,८ पुस– चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ महिनामाको अवधिमा नेपालमा वैधानिक रुपमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।
यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ । गत वर्ष यस अवधिमा नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो ।
तथ्यांक अनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो । चालु आर्थिक वर्षको मंसिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको विभागले जानकारी दिएको छ ।
कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो । सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जानकारी दिएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।