अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० मंसिर २७ गते १५:३० मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको दाबी गरेका छन । आज बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन ।

उनले कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत मौद्रिक पहल आफूले गरेको बताएका छन । उनले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ ।

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’ उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताएका छन ।

उनले भने, ‘स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको छ, जसमा चालु आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको छ, ‘यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us