पुँजीगत खर्च र राजस्वमा गत वर्षभन्दा सुधार भयो: अर्थतन्त्री

काठमाण्डु टुडे २०८० मंसिर २७ गते १५:१० मा प्रकाशित

काठमाण्डु, २७ मंसिर–अर्थतन्त्री डा प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको बताएका छन । आज (बुधबार) अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले यस्तो बताएका हुन ।

उनले पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको जनाएका पनि बताएका छन । २६ मंसिरसम्म सरकारले ३४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्षको यही अवधिमा ३२ अर्ब ४३ करोड पुँजीगत खर्च भएको थियो ।

गत वर्षभन्दा यो अवधिमा भएको पुँजीगत खर्च ५ दशमलव ९ प्रतिशतले बढी हो । त्यस्तै, उनले समग्र राजस्वमा ७ दशमलव ५७ प्रतिशत वृद्धि भएको पनि बताएका छन । उनले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत वृद्धि भएको बताएका छन । उनले अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका छन ।

उनले अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु आउने पनि बताएका छन । उनले आफुले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको पनि बताएका छन ।

उनले भने, ‘कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम सञ्चितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले अर्थतन्त्र शिथिल अवस्थामा थियो, ‘कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकाले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घरजग्गा र सेयर कारोबारमा ठूलो गिरावट आएको थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us